क्यान्सरको उपचार

क्यान्सरको उपचारमा बिभिन्न तरिका प्रयोग गरिन्छ:

  • शल्यक्रिया – सर्जरी / अपरेसन
  • रेडियोथेरापी – विकिरणबाट उपचार
  • किमोथेरापी – क्यान्सरका औषधी
  • हर्मोनल थेरापी – हर्मोनको प्रयोग
  • टार्गेटेड थेरापी – नयाँ औषधीको प्रयोग

क्यान्सर एउटै ठाँउ/अँगमा मात्र छ भने त्यहीँ मात्र उपचार गरे पुग्छ – त्यसका लागी शल्यक्रिया वा रेडियोथेरापी गरिन्छ । यदि अन्य ठाँउमा/अँगमा फैलिएको अवस्थाको क्यान्सर भए शल्यक्रिया, रेडियोथेरापी साथै किमोथेरापी र हर्मोन थेरापी गर्न जरुरी हुन्छ । तर केही अवश्थामा यि सबै उपचार प्रविधी सँगसँगै प्रयोगमा आउँछन् – कुन कहिले कसरी गर्ने भन्ने कुरा बिरामी र रोगको अवस्थामा भर पर्छ ।

रेडियोथेरापी

रेडियोथेरापीमा शक्तिशाली एक्सरेको प्रयोगले क्यान्सरका कोषहरूलाई नष्ट गरिन्छ । हाम्रो अस्पतालमा हुने उच्च प्रविधीको मेसिन (लिनियर एसिलिरेटर- लिनाक्) बाट क्यान्सरमा मात्र पर्ने गरि एक्सरे निस्किन्छ- जसले गर्दा वरिपरिका क्यान्सर नफैलिएको अंगमा कम असर पर्छ । केही हप्ता हरेक दिन (शुक्रवार-शनिवार बाहेक) रेडियोथेरापी गरिन्छ र धेरै जना बिरामीले सजिलैसँग यो उपचार लिन सक्नुहुन्छ ।

किमोथेरापी

क्यान्सरको उपचारमा प्रयोग हुने धेरै प्रकारका औषधीहरू उपलव्ध छन् । ति औषधीको प्रयोग गर्ने प्रविधीलाई किमोथेरापी भनिन्छ । किमोथेरापी औषधीहरू सुइबाट नशामा लगाइन्छ । केही किमोथेरापी गोली औषधीको रुपमा पनि उपलव्ध छन् । अहिले बिभिन्न प्रकारका किमोथेरापी बनेका छन् । हरेक औषधीको प्रयोग गर्ने तरिका फरक हुन्छन् – साथै किमोथेरापीले गर्ने दुष्प्रभावहरू पनि फरक हुन्छन् । कुन किमोथेरापी प्रयोग गर्ने निर्णय क्यान्सरको प्रकार, बिरामीको अवश्था र उमेरको आधारमा गरिन्छ । किमोथेरापीका कारण हुन सक्ने दुष्प्रभावहरु निर्मुल गर्न औषधीहरू भएकाले धेरै जसो बिरामीले किमोथेरापी पनि सजिलै लिन सक्नुहुन्छ ।

हर्मोन थेरापी

स्तनको क्यान्सर र डिम्बासयका केही क्यान्सरहरू शरिरमा उत्पादन हुने हर्मोनमा भर पर्ने हुन्छन् । त्यस्ता प्रकारका क्यान्सरहरूमा हर्मोनको प्रयोग गरिन्छ जसले गर्दा ति क्यान्सरहरूको वृद्घि रोकिन्छ ।

टार्गेटेड थेरापी

केही बर्ष अघि नयाँ प्रविधीका औषधीहरू विकाश भएका छन् । ति औषधीहरुले क्यान्सर बनाउने कोषहरूमा मात्र काम गर्ने भएकाले निकै कम दुष्प्रभावहरू पर्छन् । अहिले सम्म केही क्यान्सरहरूमा मात्र ति औषधीहरूले काम गर्दछन् । समयसँगै यि औषधीहरू अरु क्यान्सरका लागी पनि बन्नेछन् भनेर आश गर्न सकिन्छ ।