रेडियोथेरापी/Radiotherapy

रेडियोथेरापी के हो ?

रेडियोथेरापी क्यान्सरको उपचारमा प्रयोग हुने एउटा उपचार प्रविधि हो । यसमा विशेष विकिरणहरू (Radiation) प्रयोग गरेर क्यान्सरका कोष (cells) लाई मारिन्छ । यसो गर्दा क्यान्सर निको हुने वा नबढ्ने हुन्छ । यसलाई कहीँ-कहीँ रेडियसन थेरापी भन्छन् । नेपालमा ‘सेकाइ गर्ने’ र भारतमा ‘करेन्टले उपचार गर्ने’ भनेको सुनिन्छ, तर यस्ता शब्दले गलत अर्थ दिने भएकाले प्रयोग गर्नु हुँदैन ।

रेडियोथेरापी किन गरिन्छ ?

रेडियोथेरापी मुख्यतः क्यान्सर निको पार्न गरिन्छ । केही क्यान्सर रेडियोथेरापी मात्रले नै निको हुन सक्छन्, जस्तै: प्रोस्टेट (Prostate), स्वरयन्त्र (Larynx) वा प्रारम्भिक अवस्थामा रहेको अन्य अंगको क्यान्सर । केही क्यान्सरमा अन्य उपचार प्रविधि, जस्तै किमोथेरापी पनि साथमा प्रयोग गरिन्छ । केही बिरामीलाई अपरेसनपछि रेडियोथेरापी गर्न जरुरी हुन्छ । त्यस्तो अवस्थालाई Adjuvant Radiotherapy भनिन्छ । केही बिरामीलाई अपरेसनअघि रेडियोथेरापी जरुरी हुन्छ, जसले गर्दा ट्युमरको आकार घट्छ र अपरेसन सुलभ हुन्छ । यसलाई Neo Adjuvant Radiotherapy भनिन्छ ।

रेडियोथेरापी क्यान्सर निको गर्न मात्र प्रयोग हुन्छ त ?

सधैं होइन । केही क्यान्सर निको नहुने अवस्थामा पुगिसकेका हुन्छन् । त्यस्ता बिरामीलाई पनि रेडियोथेरापीले राम्रो गर्छ । क्यान्सरसँग आएका समस्या, जस्तै: हड्डीको दुखाइ, नसा च्यापिएको वा अन्य समस्यामा रेडियोथेरापीले सहयोग गर्छ । यसलाई Palliative Radiotherapy भनिन्छ ।

रेडियोथेरापी कसरी दिइन्छ ?

रेडियोथेरापीका विभिन्न प्रकारमध्ये यहाँ शरीरको बाहिरबाट दिइने रेडियोथेरापी (External beam radiotherapy) बारे चर्चा गरिँदैछ । Linear Accelerator (LINAC/लिनाक्) एउटा अत्याधुनिक मेसिन हो, जसको प्रयोग रेडियोथेरापीमा गरिन्छ । यो मेसिनबाट शक्तिशाली एक्स-रे विकिरण निस्किन्छ । यो मेसिन ठूलो हुन्छ र महँगो पनि । त्यसैले धेरै अस्पतालमा यो सेवा छैन ।

रेडियोथेरापी प्लानिङ भनेको के हो ?

ट्युमरको प्रकार, त्यसको आकार र नापअनुसार कता र कति पटक रेडियोथेरापी दिने भनेर गरिने योजनालाई प्लानिङ भनिन्छ । औषधिको जस्तै रेडियोथेरापीको पनि मात्रा (dose) हुन्छ र यो सबै निर्णय प्लानिङका बेला गरिन्छ । प्लानिङ गर्दा सीटी स्क्यान गरिन्छ, जसलाई सीटी-प्लानिङ (CT planning) भनिन्छ । सीटी स्क्यानमा ट्युमर कता छ, कत्रो छ र कताबाट रेडियोथेरापी गर्दा अरु अंगलाई बचाउन सकिन्छ भन्ने टुंगो लगाएर त्यहीअनुसार प्लानिङ गरिन्छ ।

रेडियोथेरापी कति दिन दिनुपर्छ ?

प्लानिङ गरेको केही दिनमा रेडियोथेरापी सुरु गर्न सकिन्छ । रोगको प्रकार र बिरामीको अवस्था हेरेर कति पटक दिने भनेर निर्णय लिइन्छ । सामान्यतया सातामा ५ दिन गरेर ५-७ सातासम्म रेडियोथेरापी गरिन्छ । प्रत्येक दिनको रेडियोथेरापी केही मिनेटको मात्र हुन्छ । केही विशेष अवस्थाको क्यान्सरहरूमा १ पटक, ५ पटक वा १० पटक मात्र रेडियोथेरापी दिइन्छ ।

रेडियोथेरापी कसरी गरिन्छ ?

हरेक दिन एउटै ठाउँमा रेडियोथेरापी गर्न सकियोस् भनेर छालामा सानो ट्याटु गरिन्छ, जुन सूक्ष्म रूपमा हेर्दामात्र देखिन्छ । बिरामी रेडिएसन विभागमा आएपछि केही हल्का लुगा फेर्न लगाइन्छ । त्यसपछि पालो आएपछि रेडिएसन टेक्नोलोजिस्टले लिन्याक भएको कोठामा लिएर जानुहुन्छ, सबै कुरा बुझाएर मेसिनमा राख्नुहुन्छ र मेसिन तथा बिरामीको पोजिसन मिलाउनुहुन्छ । त्यसो गर्दा हरेक दिन ट्युमरले मात्र रेडियोथेरापी पाउँछ । केही विशेष परिस्थितिमा रेडियोथेरापी भएको केही सातामा पुन: प्लानिङ गरिन्छ । रेडियोथेरापीको मुख्य औचित्य नै ट्युमरले विकिरण पाओस्, अरू अंगले सकेसम्म नपाऊन् भन्ने हो।

रेडियोथेरापी गर्दा दुख्छ ? पोल्छ ?

दुख्दैन र पोल्दैन पनि ! लिन्याकबाट शक्तिशाली एक्स-रे निस्किन्छन् र रेडियोथेरापी लिइरहेका बेला केही थाहा हुँदैन । केही साताको रेडियोथेरापीपछि कसै-कसैलाई छाला रातो हुने, चिलाउने हुन सक्छ । ती समस्यालाई औषधिले समाधान गर्न सकिन्छ र रेडियोथेरापी पूरै सकिएको केही सातामा आफैं निको हुन्छन् पनि । रेडियोथेरापी गर्दा सातामा एकपटक वा समस्या पर्नासाथ डाक्टरलाई भेट्नुपर्छ, जसले गर्दा समस्याहरू प्रारम्भिक अवस्थामै समाधान गर्न सकिन्छ ।

रेडियोथेरापी गरिसकेपछि रेडियसन शरीरमै बस्छ ?

बस्दैन । रेडियोथेरापीका विकिरण शरीरमा बाँकी रहँदैनन् र अरु कसैलाई पनि हानि गर्दैनन् । रेडियोथेरापी गर्ने कोठाका भित्ता विशेष हुन्छन्, जसले गर्दा बाहिर बसेका मान्छेलाई पनि केही असर पर्दैन ।

रेडियोथेरापीका प्रतिकूल असर के हुन् ?

रेडियोथेरापीको विकिरणले ट्युमरका कोषहरू क्षति गर्छ । यसो गर्दा केही निरोगी कोषमा पनि चोट पर्छ । यसका कारण प्रतिकूल असर देखिन सक्छन् । तर, निरोगी कोष छिटै निको हुन्छन्, जुन गुण ट्युमरका कोषमा पाइँदैन । असर पनि कसैलाई धेरै, कसैलाई थोरै देखिन सक्छन् । धेरैलाई देखिने प्रतिकूल असर भनेको थकान हो । सामान्य मान्छेभन्दा बढी थकाइ लाग्ने, जाँगर नभएको जस्तो हुन सक्छ । त्यसबाहेक रेडियोथेरापी गरिएको ठाउँमा छालाका असर हुन्छन् । रातो हुने, सुन्निएको झैं हुने, दुख्ने हुन सक्छ, जसको उपचार छ र निको पनि हुन्छ । पेटमा रेडियोथेरापी पाएकाहरूलाई उल्टी वा पखाला लाग्न सक्छ । यसको पनि सहजै उपचार गर्न सकिन्छ ।

रेडियोथेरापीले आफैं पनि क्यान्सर गराउन सक्छ ?

रेडियोथेरापीले क्यान्सर गराउने सम्भावना अत्यन्त न्यून छ । एक अध्ययनअनुसार रेडियोथेरापी पाएका एक हजार बिरामीमध्ये १५ वर्षपछि क्यान्सर हुन सक्ने सम्भावना ५ जनालाई हुन्छ ! यो भनेको निकै कम हो । रेडियोथेरापीका कारण शरीरमा हुने प्रतिकूल असर न्यून छन्, भएका पनि समाधान गर्न सकिने खालका छन् ।