News

News

क्यान्सर किन हुन्छ ?

featured image

उपचार हुन्छ ? निको हुन्छ त ?

हाम्रो शरिरमा करोडौं कोषहरू हुन्छन् । ति आँखाले नदेखिने शुष्म कोषहरू मिलेर हाम्रो शरिर बनेको छ । ति कोषहरूले हाम्रो शरिर बनाउने, घाउ निको पार्ने र हामीमा जिवन भर्ने काम गर्दछन् । ति कोषहरूलाई अझै शुष्म रुपमा हेर्ने हो भने ति भित्र हामीले डिएनए देख्छौं, त्यही डिएनएमा यि कोषहरूको कानुन लेखेको हुन्छ – जिवन दिने, घाउ निको पार्ने र शरिर सम्हालेर राख्ने ।

त्यही डिएनएमा केही खराब परिवर्तन आएपछि शरिरका केही कोषहरू अनियन्त्रित रुपमा बढ्न थाल्छन् – तिनीहरूले पहिला जुन अँगमा उत्पत्ति भए, त्यो अँग बिगार्छन् र रगत वा गिर्खाहरूको माध्यमबाट अन्य अँगहरूमा पुग्छन् र त्यसलाई पनि बिगार्नथाल्छन् – यो अवस्थालाई क्यान्सर भनिन्छ । यसरी क्यान्सरले अँगहरू बिगार्न अघि उपचार गर्न सकियो भने यो रोग नियन्त्रणमा राख्न र निको पार्न सकिन्छ तर बिग्रिएका ति अँगहरू जब जिबन चलाउन नसक्ने हुन्छन्, क्यान्सरको कारणले बिरामीको मृत्यू हुन्छ ।

क्यान्सरको स्टेजहरू पनि त्यसरी नै निर्धारण गरिएको हुन्छ । जुन अँगमा उम्रियो त्यहीँ छ र सानो छ भने स्टेज-१ भनिन्छ; अलि ठूलो हुन थाले पछि स्टेज-२ अनि गिर्खाहरूमा पुगिसक्दा स्टेज-३ भनिन्छ भने अरु अँगमा सरिसकेको क्यान्सरलाई स्टेज-४ भनिन्छ ।  जति जति स्टेज माथि चढ्दै जान्छ, त्यति त्यति रोग निको हुने सम्भावना घट्दै जान्छ । क्यान्सर पहिलो स्टेजबाट दोस्रो अनि तेस्रो र चौथोमा पुग्न धेरै समय लगाउँदैन, त्यसैले समयमै यसको उपचार गर्न निकै महत्वपूर्ण हुन्छ ।क्यान्सरको वैज्ञानिक तथ्यहरूले प्रमाणित गरेको उपचार किमोथेरापी (क्यान्सरका विभिन्न औषधिहरू दिने प्रकृया), रेडियोथेरापी (विकिरणले ‘सेक्ने’) र सल्यक्रिया (चिरेर झिकेर फ्याल्ने) हुन् । यि सबै वा कुनै एक वा दुई उपचार हरेक क्यान्सरलाई जरुरी हुन्छ।

हो, क्यान्सरको उपचार जटिल छ - तर उपचार सम्भव छ । हामीले हेर्ने बिरामीहरू मध्ये कतिपय बिरामीहरू रोग पत्ता लाग्दा स्टेज १ वा २ मा भए पनि उपचार गराउन ढिलो हुँदा स्टेज-३ वा ४ मा आइपुग्नुहुन्छ। त्यसको कारण अहिलेको समयमा बढ्दै गएको ‘बिना साइड-इफेक्ट आयुर्वेदिक उपचार’ क्लिनकहरू भएका छन् । बिना अध्यनन, बिना डिग्री खोल्न र प्रचार गर्न पाइने यस्ता क्लिनिकहरूमा बिरामीहरू जाने र त्यहाँको उपचार र ‘केही हप्ता पछि असर देखिन्छ’ भनेर कुर्दा कुर्दै रोग निकै बढिसकेको हुन्छ । निको हुन सक्ने अवस्थाको क्यान्सर भएका बिरामीलाई ‘अब निको नहोला कि’ भन्न मलाई निकै छटपटी हुन्छ। हो, हामीकहाँ आएका सबै क्यान्सरका बिरामीलाई हामी निको पार्न त सक्दैनौं तर विज्ञानले प्रमाणित गरेको उपचार गरेर हामीले धेरै बिरामीहरूमा जिवन थपेका छौं । 

हुन त क्यान्सरको उपचारमा प्रयोग हुने प्रमाणित औषधिहरू पनि केही जडिबुटीबाट, केही केमिकलहरूबाट बनेका हुन् तर जडिबुटी खाएर अहिले सम्म कसैको क्यान्सर निको भएको छैन । जडिबुटी र थाहै नभएका पदार्थहरूमा हजारौँ खर्च गरेर धेरै जना बिरामीहरू ठगिनुभएको छ । 

 क्यान्सर जो कसैलाई पनि लाग्न सक्छ । लागेको थाह हुनासाथ पहिला अस्पताल गएर सबै जानकारी लिन जरुरी छ । आजकल औषधिहरू निकै राम्रा बन्न थालेका छन्, अपरेसन निकै जटिल पनि सहजै हुन थालेका छन् र रेडियोथेरापी गर्ने मेसिनहरू पनि नयाँ र सटिक भएका छन् । विकसित देशहरूमा उपलव्ध हुने सबै उपचार नेपालमै उपलव्ध भएका बेला प्रमाणित नै नभएका उपचारहरूमा समय खेर फ्याल्दा रोग निको हुने बाट नहुने हुन सक्छ ।रेडियोमा पटक पटक सुनिने ‘बिना साइड-ईफेक्ट, बिना अपरेसन’ सबै रोगहरूको उपचार गर्छौं भनेर प्रचार बजाउन नपाइने हो भने पनि धेरै जना क्यान्सरका बिरामीहरू यसरी हजारौँ खर्च गर्नबाट र जिबन समय अघि नै सकाउनबाट बच्नुहुनेथियो ।