क्यान्सर के हो, कति प्रकारको हुन्छ, कसरी उपचार गर्ने र कसरी जोगिने भन्ने कुरा सजिलै बुझ्नुहोस्। काठमाडौं क्यान्सर सेन्टरमा, हाम्रा डाक्टरहरुले विश्व-स्तरीय उपचार नेपालमै दिन्छन्, त्यसैले तपाईं घर परिवार छाडेर बिदेश जानु पर्दैन।
हाम्रो शरिरमा करोडौं कोषहरू हुन्छन् । ती आँखाले नदेखिने शुष्म कोषहरू मिलेर हाम्रो शरिर बनेको छ । ती कोषहरूले हाम्रो शरिर बनाउने, घाउ निको पार्ने र हामीमा जिवन भर्ने काम गर्दछन् । ती कोषहरूलाई अझै शुष्म रुपमा हेर्ने हो भने ति भित्र हामीले डिएनए देख्छौं, त्यही डिएनएमा यि कोषहरूको कानुन लेखेको हुन्छ – जिवन दिने, घाउ निको पार्ने र शरिर सम्हालेर राख्ने । त्यही डिएनएमा केही खराब परिवर्तन आएपछि शरिरका केही कोषहरू अनियन्त्रित रुपमा बढ्न थाल्छन् – तिनीहरूले पहिला जुन अँगमा उत्पत्ति भए, त्यो अँग बिगार्छन् र रगत वा गिर्खाहरूको माध्यमबाट अन्य अँगहरूमा पुग्छन् र त्यसलाई पनि बिगार्नथाल्छन् – यो अवस्थालाई क्यान्सर भनिन्छ ।
यसरी क्यान्सरले अँगहरू बिगार्न अघि उपचार गर्न सकियो भने यो रोग नियन्त्रणमा राख्न र निको पार्न सकिन्छ तर बिग्रिएका ति अँगहरू जब जिबन चलाउन नसक्ने हुन्छन्, क्यान्सरको कारणले बिरामीको मृत्यू हुन्छ ।
क्यान्सरको स्टेजहरू पनि त्यसरी नै निर्धारण गरिएको हुन्छ । जुन अँगमा उम्रियो त्यहीँ छ र सानो छ भने स्टेज-१ भनिन्छ; अलि ठूलो हुन थाले पछि स्टेज-२ अनि गिर्खाहरूमा पुगिसक्दा स्टेज-३ भनिन्छ भने अरु अँगमा सरिसकेको क्यान्सरलाई स्टेज-४ भनिन्छ । जति जति स्टेज माथि चढ्दै जान्छ, त्यति त्यति रोग निको हुने सम्भावना घट्दै जान्छ ।
क्यान्सर पहिलो स्टेजबाट दोस्रो अनि तेस्रो र चौथोमा पुग्न धेरै समय लगाउँदैन, त्यसैले समयमै यसको उपचार गर्न निकै महत्वपूर्ण हुन्छ ।
क्यान्सरको वैज्ञानिक तथ्यहरूले प्रमाणित गरेको उपचार किमोथेरापी (क्यान्सरका विभिन्न औषधिहरू दिने प्रकृया), रेडियोथेरापी (विकिरणले 'सेक्ने') र सल्यक्रिया (चिरेर झिकेर फ्याल्ने) हुन् । यि सबै वा कुनै एक वा दुई उपचार हरेक क्यान्सरलाई जरुरी हुन्छ।
हामीले हेर्ने बिरामीहरू मध्ये कतिपय बिरामीहरू रोग पत्ता लाग्दा स्टेज १ वा २ मा भए पनि उपचार गराउन ढिलो हुँदा स्टेज-३ वा ४ मा आइपुग्नुहुन्छ। त्यसको कारण अहिलेको समयमा बढ्दै गएको 'बिना साइड-इफेक्ट आयुर्वेदिक उपचार' क्लिनकहरू भएका छन् । बिना अध्यनन, बिना डिग्री खोल्न र प्रचार गर्न पाइने यस्ता क्लिनिकहरूमा बिरामीहरू जाने र त्यहाँको उपचार र 'केही हप्ता पछि असर देखिन्छ' भनेर कुर्दा कुर्दै रोग निकै बढिसकेको हुन्छ । निको हुन सक्ने अवस्थाको क्यान्सर भएका बिरामीलाई 'अब निको नहोला कि' भन्न मलाई निकै छटपटी हुन्छ। हो, हामीकहाँ आएका सबै क्यान्सरका बिरामीलाई हामी निको पार्न त सक्दैनौं तर विज्ञानले प्रमाणित गरेको उपचार गरेर हामीले धेरै बिरामीहरूमा जिवन थपेका छौं ।
हुन त क्यान्सरको उपचारमा प्रयोग हुने प्रमाणित औषधिहरू पनि केही जडिबुटीबाट, केही केमिकलहरूबाट बनेका हुन् तर जडिबुटी खाएर अहिले सम्म कसैको क्यान्सर निको भएको छैन । जडिबुटी र थाहै नभएका पदार्थहरूमा हजारौँ खर्च गरेर धेरै जना बिरामीहरू ठगिनुभएको छ । क्यान्सर जो कसैलाई पनि लाग्न सक्छ । लागेको थाह हुनासाथ पहिला अस्पताल गएर सबै जानकारी लिन जरुरी छ । आजकल औषधिहरू निकै राम्रा बन्न थालेका छन्, अपरेसन निकै जटिल पनि सहजै हुन थालेका छन् र रेडियोथेरापी गर्ने मेसिनहरू पनि नयाँ र सटिक भएका छन् ।
चेतावनी:
विकसित देशहरूमा उपलव्ध हुने सबै उपचार नेपालमै उपलव्ध भएका बेला प्रमाणित नै नभएका उपचारहरूमा समय खेर फ्याल्दा रोग निको हुने बाट नहुने हुन सक्छ । रेडियोमा पटक पटक सुनिने 'बिना साइड-ईफेक्ट, बिना अपरेसन' सबै रोगहरूको उपचार गर्छौं भनेर प्रचार बजाउन नपाइने हो भने पनि धेरै जना क्यान्सरका बिरामीहरू यसरी हजारौँ खर्च गर्नबाट र जिबन समय अघि नै सकाउनबाट बच्नुहुनेथियो ।
समयमै उपचार, जीवन बचाउने पहिलो कदम
सुरुवाती चेतावनी संकेतहरू के-के हुन्, जान्नुहोस्।
केमोथेरापी उपचारबारे तपाईंका धेरै प्रश्नहरूको जवाफ पाउनुहोस्।
रेडियोथेरापी कसरी काम गर्छ र यो उपचारबारे थप जानकारी पाउनुहोस्।.
नियमित जांच, समयमै पत्ता लगाउने उपायहरू बुझ्नुहोस्।
Mammogram र स्तन क्यान्सर परीक्षणबारे जान्नुहोस्।
क्यान्सर एउटै ठाउँमा सीमित भएमा शल्यक्रिया प्रभावकारी हुन्छ।
विकिरण प्रयोग गरेर क्यान्सर कोशिकाहरूलाई नष्ट गरिन्छ।
औषधिको प्रयोगले क्यान्सर कोशिकाहरूको वृद्धि रोक्न सकिन्छ।
हर्मोन प्रयोग गरेर क्यान्सरको प्रगति नियन्त्रण गरिन्छ।
नवीन औषधिहरूले विशिष्ट क्यान्सर कोशिकाहरूलाई लक्षित गर्छ।
कुन कहिले कसरी गर्ने भन्ने कुरा बिरामी र उहाँको रोगमा भर पर्छ। क्यान्सर एउटै ठाउँ/अङ्गमा मात्र छ भने त्यहीँ मात्र उपचार गरे पुग्छ - त्यसका लागि शल्यक्रिया वा रेडियोथेरापी गरिन्छ। यदि अन्य ठाउँमा/अङ्गमा फैलिएको अवस्थाको क्यान्सर भए शल्यक्रिया, रेडियोथेरापी साथै किमोथेरापी र हर्मोन थेरापी गर्न जरुरी हुन्छ। तर केही अवस्थामा यी सबै उपचार प्रविधी सँगसँगै प्रयोगमा आउँछन्।
जोखिम कम गर्न धुम्रपान छोड्नुहोस्।
स्वस्थ आहार र व्यायामले रोकथाममा मद्दत गर्छ।
नियमित स्क्रिनिङले प्रारम्भिक पहिचान गर्न सक्छ।
नेपालमा क्यान्सरको बढ्दो प्रभाव रोगीहरूको जीवनमा गम्भीर चुनौती बनेको छ। विश्व स्वास्थ्य संगठन (WHO) अनुसार, प्रतिवर्ष ३०,००० भन्दा बढी नयाँ क्यान्सरका केसहरू नेपालमा दर्ता हुन्छन्, जसमा पाठेघरको मुखको, , स्तन, फोक्सो, र पेटको क्यान्सर अग्रणी छन्।धेरै बिरामीहरू ढिलो चरणमा उपचारका लागि आउनुहुन्छ, जसको एउटा मुख्य कारण क्यान्सरबारे सीमित जानकारी र नियमित स्वास्थ्य परीक्षणको कम प्रचलन हुन सक्छ।
यस समस्यामा सुधार गर्न नियमित जाँच, आधुनिक उपचार, र विशेषज्ञ डाक्टरहरूको सेवा महत्त्वपूर्ण छ। हाम्रो अस्पतालले अन्तर्राष्ट्रिय स्तरको प्रविधि र अनुभवी ओन्कोलोजी टोलीको साथ क्यान्सरको प्रारम्भिक निदान, किमोथेरापी, रेडियोथेरापी, र सर्जिकल सेवाहरू प्रदान गर्दछ। साथै, रोगीहरूको सुविधाको लागि नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने निसुल्क सेवा, कर्मचारी संचयकोष र सामाजिक सुरक्षा कोष बाट उपलब्ध हुने उपचार प्याकेजको व्यवस्था छ।
धेरै अङ्गहरूका क्यान्सरमा शल्यक्रिया प्रमुख उपचार प्रविधि हो। यदि क्यान्सर सो अङ्गबाट बाहिर फैलिएको छैन भने अपरेसन गरेर पूर्ण रूपमा रोग निकालिन्छ। क्यान्सरको आकार र अन्य मापदण्डहरू हेरेर शल्यक्रिया पछि रेडियोथेरापी, किमोथेरापी वा दुबै आवश्यक छ कि छैन भन्ने निर्णय गरिन्छ र सोही अनुसार थप उपचार गरिन्छ।
रेडियोथेरापीमा शक्तिशाली एक्स-रेको प्रयोगले क्यान्सरका कोषहरूलाई नष्ट गरिन्छ। हाम्रो अस्पतालमा रहेको उच्च प्रविधिको मेसिन (लिनियर एक्सिलरेटर - लिनाक्) ले क्यान्सरमा मात्र केन्द्रित गरेर एक्स-रे निस्कन्छ, जसले वरिपरिका स्वस्थ अङ्गहरूमा कम असर गर्छ। केही हप्तासम्म हरेक दिन (शुक्रबार-शनिबार बाहेक) रेडियोथेरापी गरिन्छ र धेरै बिरामीले यो उपचार सजिलै लिन सक्छन्।
क्यान्सरको उपचारमा प्रयोग हुने औषधीहरू उपलब्ध छन् र तिनको प्रयोग प्रक्रियालाई किमोथेरापी भनिन्छ। यी औषधीहरू सुईबाट नशामा लगाइन्छ वा मुखबाट खान सकिन्छ। विभिन्न प्रकारका किमोथेरापी औषधीहरू छन्, र तिनको प्रयोग तरिका र दुष्प्रभावहरू फरक-फरक हुन्छन्। कुन औषधी प्रयोग गर्ने भन्ने निर्णय क्यान्सरको प्रकार, बिरामीको अवस्था र उमेरको आधारमा गरिन्छ। दुष्प्रभाव कम गर्न औषधीहरू उपलब्ध भएकाले धेरै बिरामीले यो उपचार सहजै लिन सक्छन्।
केही क्यान्सरहरू शरीरमा उत्पादन हुने हर्मोनमा निर्भर हुन्छन्। यस्ता क्यान्सरहरूमा हर्मोन थेरापी प्रयोग गरिन्छ, जसले ती क्यान्सरको वृद्धि रोक्छ। यो विधि विशेष गरी स्तन र प्रोस्टेट क्यान्सरमा प्रभावकारी हुन्छ।
केही वर्षअघि विकसित नयाँ प्रविधिका औषधीहरूले क्यान्सर बनाउने कोषहरूमा मात्र काम गर्छन्, जसले गर्दा दुष्प्रभावहरू निकै कम हुन्छन्। हाल केही क्यान्सरहरू (जस्तै फोक्सो र छालाको क्यान्सर) मा यी औषधी प्रभावकारी छन्। भविष्यमा थप क्यान्सरका लागि यस्ता औषधी बन्ने अपेक्षा छ।
इम्युनोथेरापीले शरीरको रोग प्रतिरोधक क्षमतालाई बलियो बनाएर क्यान्सर कोषहरूसँग लड्न मद्दत गर्छ। यो नयाँ र प्रभावकारी विधि हो, जुन विशेष गरी मेलानोमा, फोक्सोको क्यान्सर र अन्य क्यान्सरहरूमा प्रयोग हुन्छ। यसले क्यान्सर कोषहरूलाई पहिचान गरी नष्ट गर्न शरीरको प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाउँछ।
"अब उच्च स्तरको विशेषज्ञ क्यान्सर उपचार सेवा हाम्रै देशमा काठमाडौं क्यान्सर सेन्टरमा उपलब्ध छ—" "विदेश जानुपर्ने झन्झट छैन ।"
गृहपृष्ठ | हाम्रो बारेमा | ब्लग | गाईड | सेवाहरू | हाम्रा डाक्टरहरू | ठेगाना | क्याल्कुलेटर | अनुसन्धान | साइटम्याप
© प्रतिलिपि अधिकार २०२५ काठमाडौं क्यान्सर सेन्टर, तथाली नाला मार्ग भक्तपुर।
फोन: ०१-५०९१६२९ | इमेल: [email protected] | वेबसाइट:
www.KCCRC.org