dr simit cancer treatment in Nepal

समयमै उपचार गराए जस्तोसुकै क्यान्सरको पनि नेपालमै सफल उपचार हुन्छ

नेपालमा पछिल्लो समय क्यान्सरका बिरामी बढिरहेका छन् । नेपालमा क्यान्सरका बिरामीको यकिन तथ्यांक छैन, तर विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीको तथ्यांक हेर्दा पुरुषमा फोक्सोको क्यान्सर बढी देखिने गरेको छ भने दोस्रोमा मुखको क्यान्सर देखिन्छ । महिलामा हेर्दा पाठेघरको क्यान्सर बढी देखिने गरेको छ ।

नेपालमा हरेक वर्ष ३० हजार भन्दा बढिलाई क्यान्सर देखिन्छ, तर १० हजार जति बिरामी मात्र उपचारकालागी अस्पताल पुग्ने गरेका छन् ।

सामान्यतः क्यान्सरका ४ स्टेज हुने गर्छन् , पहिलो स्टेजको निको हुने सम्भावना निकै धेरै हुन्छ भने चौथो स्टेजको निकै कम।

दुर्गम क्षेत्रबाट उपचारका लागि आउने बिरामी तेस्रो वा चौथो स्टेजमा रोग पुगेपछि मात्र अस्पताल आउने गरेका छन् जसका कारण उपचार लामो र जटिल हुन जान्छ । तर, काठमाडौं उपत्यकका बिरामीहरुमा जनचेतनासँगै अस्पतालहरु नजिक हुँदा केही समयअघि नै उपचारका लागि आउँछन् । यसरी समयमै उपचार गराए जस्तोसुकै क्यान्सरको पनि नेपालमै सफल उपचार हुन्छ

प्रायः जसो हामीहरु धेरैको के बानी हुन्छ भने कुनै पनि समस्या नआएसम्म उपचारका लागि अस्पताल नै नजाने । तर क्यान्सर रोग यस्तो हो कि सुरुको समयमा नै उपचार नभएमा अन्य अंगमा नै फैलिएर अझ गम्भीर रुप लिने हुन्छ ।

गत वर्षदेखि सरकारले विभिन्न जिल्लाहरुको तथ्यांक संकलन गर्ने काम सुरु गरेको छ । काठमाडौं उपत्यकामा उपचारका लागि आउने बिरामी हेर्दा महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको तुलनामा स्तन क्यान्सर बढी देखिएको छ । पुरुषमा फोक्सोको र मुख तथा घाँटीको क्यान्सर बढी छ ।

नेपालमा पेटको क्यान्सर, स्तन क्यान्सर, फोक्सोको क्यान्सर, मुखको क्यान्सर, पाठेघरको मुखको क्यान्सर र ठूलो आन्द्राको क्यान्सर बढी देखिने गरेको पाइएको छ ।

ठूलो आन्द्राको क्यान्सर अन्य देशहरुमा ५० वर्ष नाघेपछि मात्र देखिने गरेको छ । तर हाम्रो देशमा ४० वर्षको उमेरमा नै देखिने गरेको छ । यो क्यान्सर अन्य देशको तुलनामा १० वर्षअघि नै किन देखियो भन्ने कुनै डाटा नै छैन ।

सुर्ति र चुरोट एउटा मुख्य कारण हो क्यान्सरको । ९० प्रतिशतले चुरोट र सूर्तिजन्य पदार्थको सेवनका कारण क्यान्सर देखिने गरेको छ । त्यो बाहेक, विषादीयुक्त तरकारी फलफूलको सेवन, वातावरणमा बढेको प्रदुषण, अस्वस्थ खाना आदि पनि कारण हुन् ।

स्तनको क्यान्सर प्रारम्भिक अवस्थामा पत्ता लगाउन म्यामोग्राफि वा स्तनको भिडियो एक्सरे गराउन सकिन्छ । छिटो पत्ता लाग्यो भने छिटो उपचार गर्न सकिन्छ र निको हुने सम्भावना निकै बढ्छ। अर्को, ठूलो आन्द्राको क्यान्सरको जाँच ४० वर्षको उमेरमा नै गर्नुपर्छ । ठूलो आन्द्राको कोनोस्कोपी गरेमा सुरुको अवस्थामा थाहा पाउन सकिन्छ ।

क्यान्सर नै हुन नदिन चुरोट र सूर्तिजन्य पदार्थको सेवन तुरुन्त रोक्नुपर्छ। पाठेघरको मुखको क्यान्सर हुन नदिन संक्रमण नै रोक्ने खोप लगाउनुपर्छ । धेरै मासु, धेरै तारेको खानेकुरा नखाने, नियमित व्यायाम गर्ने र फाइबरयुक्त खानेकुरा खान छोड्दा ठूलो आन्द्राको क्यान्सरको जोखिम पनि घटाउन सकिन्छ ।

धेरै मासु नखाने, धेरै तारेको खानेकुरा नखाने, नियमित व्यायाम गर्ने र फाइबरयुक्त खानेकुरा खाने गर्दा ठूलो आन्द्राको क्यान्सरको जोखिम पनि घटाउन सकिन्छ

नेपालमा सबै प्रकारका क्यान्सरको उपचार हुन्छ । नेपालमा पर्याप्त उपकरण र विशेषज्ञहरु छन् तर अझै पनि छरछिमेकी र आफन्तहरु सोधेर नेपालबाहिर क्यान्सरको उपचार गर्न जाने चलन हटेको छैन । विदेशमा उपचार गर्न लाग्ने खर्चभन्दा निकै कम खर्चमा क्यान्सरको उपचार गर्न सकिन्छ ।

अन्तमा, सरकारले यसै आर्थिक वर्षबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिने कार्यक्रम ल्याएको छ । तर त्यसलाई देशैभर कसरी लैजाने विषयलाई ध्यानमा राखेर सबैको पहुँचमा पुर्‍याउन आवश्यक छ ।