New KCC City Clinic in New Baneshwor is now open.
बिरामी गाइड

इम्युनोथेरापी बारे तपाईं र तपाईंको परिवारका प्रश्नहरू

डाक्टरले "इम्युनोथेरापी" वा "इम्यूनो थेरापी" सुझाउँदा धेरै प्रश्न मनमा आउनु स्वाभाविक हो — के हुन्छ, कति खर्च लाग्छ, र यसले साँच्चै काम गर्छ कि गर्दैन। यहाँ सामान्य भाषामा जवाफ दिइएको छ।

इम्युनोथेरापी — नेपाली बिरामी गाइड, KCC काठमाडौं क्यान्सर सेन्टर

छोटकरीमा मुख्य कुरा

इम्युनोथेरापी के होशरीरको आफ्नै रोग प्रतिरोधात्मक क्षमता प्रयोग गरी क्यान्सरसँग लड्ने उपचार पद्धति (किमोथेरापीभन्दा फरक)
कहाँ पाइन्छKCC ताथली (भक्तपुर) र KCC City Clinic (न्यू बानेश्वर)— इन्फ्युजन उपलब्ध
लागतलचिलो/कम-मात्रा प्रोटोकलमा प्रति साइक करिब रु १०,०००–१५,०००; पूर्ण मात्रामा रु. १,४०,०००–१,६०,०००
कुन क्यान्सरमाफोक्सो, टाउको-घाँटी, मेलानोमा, मिर्गौला र केही स्तन क्यान्सर — बायोमार्कर जाँचपछि टुंगो
भारतबाट सर्नुहुन्छ भनेरिपोर्ट देखाएपछि उपचार दोहोर्‍याउनु पर्दैन, निरन्तरता दिन मिल्छ

यी सामान्य जानकारी मात्र हुन्; तपाईंको लागि उपयुक्त उपचार योजना KCC को क्यान्सर विशेषज्ञले मात्र तय गर्नुहुन्छ।

भिडियोमार्फत छोटकरीमा बुझ्नुहोस्

इम्युनोथेरापीबारे छोटो भिडियो व्याख्या - डा सिमित सापकोटा ।

आधारभूत कुरा

इम्युनोथेरापी भनेको के हो?

यो किमोथेरापीभन्दा कसरी फरक हो, कुन क्यान्सरमा प्रयोग हुन्छ, र कुन बायोमार्कर हेरिन्छ।

इम्युनोथेरापी क्यान्सर उपचारको एउटा आधुनिक पद्धति हो। यसले किमोथेरापीले जस्तो क्यान्सरका कोषहरूलाई सिधै नमारेर बिरामीको आफ्नै शरीरको रोग प्रतिरोधात्मक क्षमता (Immune system) लाई बलियो बनाउँछ। मजबुत भएको यही प्राकृतिक शक्तिले क्यान्सरका कोषहरूलाई पहिचान गरेर नष्ट गर्छ।

होइन, यी दुई पूर्ण रूपमा फरक उपचार हुन्। किमोथेरापीले तीव्र गतिमा बढिरहेका क्यान्सर कोष र केही स्वस्थ कोष दुवैलाई सिधै असर गर्छ। इम्युनोथेरापीले भने शरीरको आफ्नै सिपाही अर्थात् इम्युन सिस्टमलाई क्यान्सरविरुद्ध लड्न तालिम दिने काम गर्छ — त्यसैले कपाल झर्ने वा गल्ने समस्या निकै कम हुन्छ।

नेपालमा विशेषगरी यी क्यान्सरमा इम्युनोथेरापी बढी प्रयोग भइरहेको छ:

  • फोक्सोको क्यान्सर (Lung cancer)
  • टाउको तथा घाँटीको क्यान्सर (Head & neck cancer)
  • मेलानोमा (Melanoma)
  • मिर्गौलाको क्यान्सर (Kidney cancer)
  • मूत्राशयको क्यान्सर (Bladder cancer)
  • केही प्रकारका स्तन क्यान्सर (Breast cancer)
  • लिम्फोमा (Lymphoma) र केही रक्त क्यान्सर

यी बाहेक अन्य केही क्यान्सरमा पनि बायोमार्कर अनुसार प्रयोग हुन सक्छ। अन्तिम निर्णय ट्युमर बोर्डले गर्छ।

उपचार तय गर्नुअघि हेरिने मुख्य कुरा

बायोप्सी रिपोर्टको विस्तृत पुनरावलोकन, PD-L1/MSI/dMMR/TMB जस्ता बायोमार्कर परीक्षण, कलेजो-मिर्गौलाको अवस्था, पुरानो रोग, औषधि र गर्भावस्था स्थितिको मूल्याङ्कन।

क्यान्सरको प्रकार अनुसार फरक पर्छ। प्रमुख बायोमार्करहरू:

  • ✓PD-L1 (IHC) — फोक्सो, टाउको-घाँटी, मूत्राशय आदि क्यान्सरमा इम्युनोथेरापीको सम्भावना जाँच्न
  • ✓MSI-H / dMMR — मिसम्याच रिपेयर स्टेटस; यो पोजिटिभ भए धेरै क्यान्सरमा इम्युनोथेरापी लाभदायक हुन सक्छ
  • ✓TMB (Tumour Mutational Burden) — केही केसमा उच्च TMB भए इम्युनोथेरापीले राम्रो काम गर्न सक्छ
  • ✓अन्य: HER2, HRD, आदि — क्यान्सर प्रकार अनुसार थप जाँच आवश्यक पर्न सक्छ

यी सबै जाँच सधैं सबै बिरामीलाई चाहिन्छ भन्ने छैन। डाक्टरले क्यान्सरको प्रकार, स्टेज र उपचारको लक्ष्य हेरेर कुन जाँच चाहिन्छ निर्णय गर्छ।

सुरु गर्नुअघि

के तयारी चाहिन्छ?

पहिलो साइकल सुरु हुनुअघि केके जाँच हुन्छ, उपचार कसरी दिइन्छ, र कसलाई दिनु हुँदैन।

पहिलो साइकल सुरु हुनुअघि हाम्रो टिमले सामान्यतया यी कुरा जाँच्छ:

  • ✓बायोमार्कर परीक्षण — PD-L1, MSI-H/dMMR, TMB आदि (प्रायः पहिल्यै भएको बायोप्सी नमूनाबाटै सम्भव)
  • ✓रक्त परीक्षण (CBC) — रक्तकोष, हिमोग्लोबिन, प्लेटलेट
  • ✓कलेजो (LFT) / मिर्गौला (RFT) — कार्यक्षमता जाँच
  • ✓थाइराइड र कोर्टिसोल — आधारभूत रिपोर्ट, पछि तुलना गर्न
  • ✓HIV / HBV / HCV — संक्रमण स्क्रिनिङ
  • ✓गर्भावस्था परीक्षण — प्रजनन उमेरका महिलामा आवश्यक
  • ✓इमेजिङ — CT, MRI वा PET स्क्यान, उपचार अघिको आधारभूत अवस्था थाहा पाउन

क्यान्सर प्रकार र बिरामीको अवस्था अनुसार थप जाँच पनि गर्नुपर्न सक्छ।

इम्युनोथेरापीका औषधिहरू सामान्यतया नसाबाट सुई (IV Infusion) मार्फत दिइन्छ। अस्पतालमा भर्ना भइरहनु पर्दैन — डे-केयरमै उपचार गराएर त्यही दिन घर फर्कन सकिन्छ।

  • अवधि: एक पटक इन्फ्युजन दिन सामान्यतया ३० मिनेटदेखि १ घण्टा लाग्छ; केही औषधिमा बढी समय लाग्न सक्छ।
  • अन्तराल: हरेक २, ३ वा ४ हप्तामा दोहोर्‍याइन्छ — डाक्टरको प्रोटोकल अनुसार।
  • Premedication: पहिले इन्फ्युजन रिएक्सन भएको भए, वा डाक्टरले आवश्यक ठानेमा, antihistamine, paracetamol वा steroid अगाडि दिन सकिन्छ।
  • Monitoring: इन्फ्युजनको समयमा र पछि केही समय रक्तचाप, नाडी, अक्सिजन र सामान्य अवस्था निगरानी गरिन्छ।

इन्फ्युजनपछि अचानक ज्वरो, काँप, छालामा दाना, सास फेर्न गाह्रो वा बेचैनी भए तुरुन्तै नर्स/डाक्टरलाई भन्नुहोस्।

इम्युनोथेरापी सबैलाई उस्तै उपयुक्त हुँदैन। निम्न अवस्थामा डाक्टरले जोखिम-फाइदा राम्ररी हेरेर निर्णय गर्छ:

  • सक्रिय autoimmune disease — जस्तै rheumatoid arthritis, lupus, inflammatory bowel disease, psoriasis आदि।
  • अंग प्रत्यारोपण (Transplant) — इम्युन सिस्टम बढी सक्रिय हुँदा प्रत्यारोपित अंगमा असर पर्न सक्छ।
  • इन्टरस्टिशियल लङ डिजिज (ILD) वा फोक्सोमा पुरानो गम्भीर समस्या।
  • गर्भावस्था वा स्तनपान — गर्भमा हानि पुर्‍याउन सक्छ; गर्भावस्था परीक्षण आवश्यक।
  • गम्भीर संक्रमण वा नियन्त्रणमा नआएको संक्रमण।
  • गम्भीर कलेजो/मिर्गौला असफलता वा अन्य गम्भीर अंग समस्या।

यी अवस्था भए पनि सधैं इम्युनोथेरापी नै दिनु हुँदैन भन्ने छैन — ट्युमर बोर्डले केस-अनुसार निर्णय गर्छ। आफ्नो सबै पुरानो रोग र औषधिको जानकारी डाक्टरलाई दिनुहोस्।

हेरचाह

साइड इफेक्ट र घरमा हेरचाह

के ध्यान दिने, र कहिले तुरुन्त डाक्टरलाई भन्ने।

किमोथेरापीको तुलनामा कपाल झर्ने, धेरै बान्ता हुने वा असाध्यै गल्ने समस्या निकै कम हुन्छन्। तर इम्युन सिस्टम बढी सक्रिय हुने भएकाले कहिलेकाहीँ आफ्नै स्वस्थ अंगमा असर गर्न सक्छ।

ध्यान दिनुपर्ने सामान्य लक्षण

छालामा डाबर आउने वा चिलाउने, लगातार पखाला लाग्ने, फेरिएको खोकी वा सास फेर्न गाह्रो हुने, र थाइराइडमा उतारचढाव।

🚨 यी लक्षण देखिए तुरुन्तै डाक्टरलाई भन्नुहोस्।

  • ज्वरो, नयाँ/बढ्दो खोकी, सास फेर्न गाह्रो → फोक्सोमा सूजन (Pneumonitis) हुन सक्छ।
  • गम्भीर पखाला, रगत मिसिएको दिसा, पेट दुखाइ → आन्द्रामा सूजन (Colitis) हुन सक्छ।
  • आँखा/छाला पहेँलो, गाढा पिसाब, पेटको दाहिने भाग दुख्ने → कलेजोमा सूजन (Hepatitis) हुन सक्छ।
  • गम्भीर टाउको दुखाइ, दृष्टि परिवर्तन, असामान्य थकान, चक्कर → हार्मोन ग्रन्थि समस्या (Hypophysitis) हुन सक्छ।
  • छालामा दाना/चिलाउने, इन्फ्युजन रिएक्सन, थाइराइड लक्षण — धड्कन बढ्ने, तौल अचानक परिवर्तन, चिसो/गर्मी सहन नसक्ने।

KCC सम्पर्क: ☎ 01-5091629 · WhatsApp: 9818-226237

इन्फ्युजनपछि केही दिन ज्वरो, असामान्य थकान, लगातार पखाला/पेट दुख्ने, छालामा दाना वा चिलाउने, र सास फेर्न गाह्रो/नयाँ खोकी — यीमा नजर राख्नुहोस्।

लक्षण दुई दिनभन्दा बढी रहे वा बढ्दै गए ढिलो नगरी अस्पताल सम्पर्क गर्नुहोस्।

तर माथिको रातो बाकसमा दिइएका कुनै पनि लक्षण देखिए तुरुन्तै, कुर्नु नपरी, डाक्टरलाई भन्नुहोस्।

लागत

लागत र कम-मात्रा विकल्प

खर्च कत्तिको हुन्छ, र सुलभ बनाउने विकल्पहरू के के छन्।

अन्तर्राष्ट्रिय मापदण्डको पूर्ण मात्रा (240mg) निकै महँगो हुन्छ — अमेरिकामा एउटै साइकलको लिस्ट प्राइस लगभग $8,100 (करिब रु. १२ लाख ४० हजार) पर्छ। नेपालमै उही पूर्ण मात्रा लिँदा पनि प्रति साइकल करिब रु. १,४०,०००–१,६०,००० पर्न सक्छ।

तर KCC ले २०२२ देखि दिँदै आएको लचिलो/कम-मात्रा (Flexible/Low-Dose) प्रोटोकलमा (DELII अनुसन्धानमा प्रयोग भएको 20mg मात्रा) प्रति साइकल लागत करिब रु. १२,०००–१५,००० सम्ममा झर्छ। यो औषधिको मात्र लागत हो; परामर्श, इन्फ्युजन र ल्याब जाँचको खर्च थपिन सक्छ।

यो अनुमानित खर्च हो, अन्तिम खर्च होइन। औषधिको मात्रा, क्यान्सरको प्रकार, शरीरको तौल, साइकल संख्या, जाँच, supportive care, भर्ना, emergency र औषधि उपलब्धता अनुसार खर्च फरक पर्छ। परामर्श, इन्फ्युजन, ल्याब, स्क्यान र अन्य खर्च थपिन सक्छ। अन्तिम योजना र खर्च डाक्टरको सिफारिसपछि मात्र निश्चित हुन्छ।

पूरा लागत विश्लेषण र अनुसन्धान पढ्नुहोस्

टाटा मेमोरियल अस्पताल (मुम्बई) को नेतृत्वमा भएको ठूलो अनुसन्धान (DELII Trial, Journal of Clinical Oncology 2026) मा ५०० भन्दा बढी बिरामीलाई मानक मात्राको लगभग १/१२ मात्रामा nivolumab दिँदा किमोथेरापी-मात्र भन्दा राम्रो नतिजा देखियो — बाँच्ने अवधि बढी, साइड इफेक्ट कम।

यसलाई पूर्ण मात्रासँग सिधै तुलना गर्ने अनुसन्धान अझै भएको छैन, त्यसैले दुवै ठ्याक्कै उस्तै नतिजा दिन्छन् भन्न सकिँदैन — तर यसले किमोथेरापी-मात्र भन्दा प्रस्टै राम्रो नतिजा दिन्छ भन्ने पुष्टि भइसकेको छ।

कम मात्रा सबैका लागि मानक उपचार होइन। DELII Trial जस्ता अध्ययनमा चुनिएका बिरामीमा लाभ देखिए पनि पूर्ण मात्रासँग सिधै तुलना गर्ने ठूलो अध्ययन अझै छैन। यो ट्युमर बोर्डको निर्णय, निगरानी र उपयुक्त केसमा मात्र प्रयोग गर्नुपर्छ। आफ्नो केसका लागि कुन मात्रा ठीक हुन्छ, डाक्टरसँग छलफल गर्नुहोस्।

क्यान्सरको प्रकार र औषधिले शरीरमा कत्तिको राम्रो काम गरिरहेको छ भन्ने कुरामा भर पर्छ। राम्रो प्रतिक्रिया देखिएमा सामान्यतया एकदेखि दुई वर्षसम्म जारी राख्न सकिन्छ, र बिचबिचमा सिटी वा पेट स्क्यान गरेर प्रगति हेरिन्छ।

स्थानान्तरण

भारत वा अर्को अस्पतालबाट उपचार सार्नुहुँदैछ?

धेरै बिरामीले भारतमा उपचार सुरु गरेपछि आवत-जावतको खर्च र थकानका कारण काठमाडौंमै निरन्तरता खोज्नुहुन्छ। यो सामान्य कुरा हो, र सम्भव छ।

भारतबाट सर्दा

उपचार फेरि सुरुदेखि गर्नुपर्दैन

WhatsApp वा इमेलमार्फत treatment summary, बायोप्सी/बायोमार्कर रिपोर्ट, स्क्यान, र अहिलेसम्म दिइसकेका साइकलहरूको विवरण पठाउनुभयो भने KCC ले औषधि उपलब्धता पुष्टि गरेर केही दिनभित्रै उही साइकल तालिका अनुसार निरन्तरता दिन्छ।

  • बारम्बार भारत आवत-जावत गर्नुपर्ने खर्च र थकान घट्छ
  • उही अन्तर्राष्ट्रिय प्रोटोकल (NCCN/WHO मापदण्ड) — नेपालमै
  • परिवार नजिकै रहेर उपचार गराउन सकिने
  • निःशुल्क रिङरोड पिकअप — बाहिरी जिल्लाबाट आउने बिरामीका लागि
स्थान

उपचार कहाँ गरिन्छ?

इम्युनोथेरापी दुई स्थानमा उपलब्ध छ — तपाईंलाई सजिलो पर्ने ठाउँबाट सुरु गर्नुहोस्।

मुख्य अस्पताल
KCC ताथली, भक्तपुर

पूर्ण डे-केयर इन्फ्युजन सेवा, ट्युमर बोर्ड, र सबै क्यान्सर विशेषज्ञ यहीं उपलब्ध। बाहिरी जिल्लाबाट आउने बिरामीका लागि निःशुल्क रिङरोड पिकअप।

☎ 01-5091629 · WhatsApp: 9818-226237

WhatsApp गर्नुहोस्
उपत्यकाभित्रैबाट सजिलो
KCC City Clinic, नयाँ बानेश्वर ,काठमाडौं

— Kolkata Sweets संगै।

☎ 01-5312123 · WhatsApp: 9763-490950

WhatsApp गर्नुहोस्
हाम्रो टिम

इम्युनोथेरापी हेर्ने विशेषज्ञहरू

हरेक निर्णय ट्युमर बोर्डले सामूहिक रूपमा गर्छ।

थप पढ्नुहोस्

सम्बन्धित लेख

सही परामर्श र उपचार योजनाका लागि

हाम्रो अनुभवी क्यान्सर रोग विशेषज्ञहरूसँग परामर्श लिनुहोस् र आफ्नो अवस्था अनुसारको सही उपचार योजना बनाउनुहोस्।